Bhanubhakta Acharya Poems In Nepali | Bhanubhakta Acharya Kabita Nepali

Bhanubhakta Acharya (भानुभक्त आचार्य, (1814 – 1868) was a Nepalese poet, translator, and writer. He was born in Nepal in a village called Ramgha in a brahmin family and got his education in his home by his grand father. He is the first person to translate the epic Ramayana from Sanskrit to the Nepali Language. Here we have collected some of the most popular Bhanu bhakta poems in Nepali.

Bhanubhakta, is said to be inspired by a grass cutter (GHASI )when was a young boy. He was from a wealthy family and was leading an unremarkable life until he met a grass cutter who in spite of being poor, wanted to give back something to mankind and the society, which could make him remembered after his death too. Inspiring by the words of the grass cutter, he wrote these lines:

भरजन्म घासँ तिर मन दिई धन कमायो,

नाम् केही रहोस् पछी भनि कुवा खनायो

घाँशी दरिद्र घरको तर बुद्दी कस्तो

म भानुभक्त धनी भैकन आज एस्तो

मेरो इनार , न त सत्तल पाटी केही छन्

जे चिज र धनहरु छन् घर भित्र नै छन्

त्येस् घाँसी ले कसरी आज दियेछ अर्ती धिक्कर हो मकन बस्नु नराखी किर्ती ।

Bhanubhakta Acharya Poems In Nepali | Bhanubhakta Acharya Kabita


Bhanu Bhakta Acharya – Ghansi

भर् जन्म घाँस तिर मन् दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन किन यस्तो

मेरा ईनार न त सत्तल पाटिकै छन्
जे धन चीजहरु छन् घर भित्रनै छन्
त्यस घाँसीले कसरी आज दिए छ अर्ति
धिक्कार हो म कन बस्नु न राखि किर्ति



Bhanubhakta Acharya – Kantipuri Nagari

चपला अबलाहरु एक् सुरमा,
गुनकेसरिको फुल ली शिरमा।
हिडन्या सखि लीकन ओरिपरी
अमरावति कान्तिपुरी नगरी।।

यति छन् भनि गन्नु काहाँ धनि ञाँ,
खुसि छन् बहुतै मनमा दुनिञाँ।
जनकी यसरी सुखकी सगरी,
अलकापुरि कान्तिपुरी नगरी।।

कहिँ भोट – र लण्डन – चीन – सरी,
कहिँ काल्-भरि गल्लि छ दिल्ली-सरी।
लखनौं – पटना – मदरास – सरी
अलकापुरि कान्तिपुरी नगरी।।

तरबार कटार खुँडा खुकुरी,
पिसतोल र बन्दुक सम्म भिरी।
अतिशूर – र – वीर – भरी नगरी,
छ त कुन्- सरि कान्तिपुरी नगरी।।

रिस राग कपट् छल छैन जाँहाँ,
तव धर्म कती छ कती छ याहाँ,
पशुका पति छन् रखबारि गरी,
शिवकी पुरि कान्तिपुरी नगरी।।



Bhanubhakta Acharya – Ek Man Chitta Lagai Chakari Garya |

एक् मन् चित्त लगाइ चाकरि गर्याँ
खूसी भया छन् हरि।
मान्पाथी पनि भुक्तमान् थपिदिया
कैल्यै नछुट्न्या गरी।

रोज् रोज् दर्शन पाउँछू चरणको
ताप् छैन मन्मा कछू।
रात् भर् नाच् पनि हेर्छु खर्च नगरी
ठूला चयन्मा म छु।
लामखुट्टे उपियाँ उडुस् इ सँगि छन्
इन्कै लहड्मा बसी।
लाम्खुट्टेहरु गाउँछन् इ उपियाँ
नाच्छन् म हेर्छु बसी।

बिन्ती डिट्ठा विचारीसित म कति गरूँ
चुप् रहन्छन् नबोली
बोल्छन् ता ख्याल् गर्या झैं अनि पछि दिनदिन्
भन्दछन् भोलि भोली
की ता सक्तीन भन्नू कि तब छिनिदिनू
क्यान भन्छन् यि भोलि
भोली भोली हुँदैमा सब घर बितिगो
बक्सियोस् आज झोली |



Bhanubhakta Acharya – Khwamit Yas Giridhaari Le

ख्वामित् यस् गिरिधारिले अति पिर्यो व्यर्थै गर्यो झेल् पनी,
यस्का झेल उतार्नलाइ सजिलो यै हो व्यहोरा पनी।
ख्वामित् लाइ चढाउँनाकन यहाँ क्यै श्लोक् कवीता गर्याँ,
मेरा श्लोक् सुनिबक्सियोस् त झगडा छीनिन्छ पाऊ-पर्याँ।।
बीस् साल् सम्म त ज्यान त्यान यहिं वाँद् लाग्यो र खेत् रोपिया,
यो साल् बाँद पनि खोलिएछ जलले ढुङ्गा सबै छोपिया,
ढुङ्गा खोजि लगाउँ बाँद कसरी राख्तैन ढुङ्गा पनी,
मानिस् पस्न त क्वै सकेन जलमा स्वात्तै बगम्ला भनी।।
अर्ज्याल् भाट ढकाल् अचार्ज इन चार् जम्मा भई सब् वस्यौं,
मील्यो मत् सब मोहिको र मतले बाँद् लाऊनामा पस्यौं,
उस् मौका गिरिधारि एहि पनि भाट् सल्लाहमा नै थियो,
भर् यस्को नभएर मात्र अहिले यस्तो उजुर् पो दियो।।



Bhanubhakta Acharya – Baalaaji Dekhyan

यति दिन पछि मैले आज बालाजि देख्याँ,
पृथिवि तलभरीमा स्वर्ग हो जानि लेख्याँ।
वरिपरि लहरामा झूलि बस्न्या चरा छन्,
मधुर वचन बोली मन् लिँदा क्या सुरा छन्।।१।।

याँहाँ बसेर कविता यदि गर्न पाऊँ,
यस्देखि सोख अरु थोक म के चिताऊँ।
उस्माथि झन् असल सुन्दरि एक् नचाऊँ,
खैंचेर इन्द्रकन स्वर्ग यहीं बनाऊँ।।२।।



Bhanubhakta Acharya – Ma Bhanubhakta

पाहाड्को अति बेस देश् तनहुँमा श्रीकृष्ण ब्राह्मण् थिया,
खुप् उच्चा कुल आर्यबंशि हुन गै सत्कर्ममा मन् दिया।
विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया,
तिन्को नाति म भानुभक्त भनि हुम् यो जानि चिहन्नी लिया।।



Bhanubhakta Acharya – Roj Roj Darshan Paunchhu (Bholi Kabita) (भानुभक्त आचार्य – रोज् रोज् दर्शन पाउँछू)

रोज् रोज् दर्शन पाउँछू चरणको ताप् छैन मन्मा कछू।
रात् भर् नाच् पनि हेर्छु खर्च नगरी ठूला चयन्मा म छु।
लामखुट्टे उपियाँ उडुस् इ सँगि छन् इन्कै लहड्मा बसी।
लाम्खुट्टेहरु गाउँछन् इ उपियाँ नाच्छन् म हेर्छु बसी।
जागिर् छैन धनी म छैन घरको केबल् कुदालो खनी,
खान्थ्याँ दुक्ख गरेर चाकरि गर्याँ मान् पाउँला की भनी।
एक् मन् चित्त लगाइ चाकरि गर्याँ खूसी भया छन् हरि।
मान्पाथी पनि भुक्तमान् थपिदिया कैल्यै नछुट्न्या गरी।
बिन्ती डिट्ठा विचारीसित म कति गरूँ चुप् रहन्छन् नबोली।
बोल्छन् ता ख्याल् गर्या झैं अनि पछि दिनदिन् भन्दछन् भोलि भोली।
की ता सक्तीन भन्नू कि तब छिनिदिनू क्यान भन्छन् यि भोलि।
भोली भोली हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली।



Bhanu Bhakta Acharya – Prashnottar Mala

अपार-संसार-समुद्रमाहाँ
डुब्याँ शरण् कुन् छ मलाइ याहाँ ?
चाँडो कृपाले अहिले बताऊ
श्रीरामको पाउ छ मुख्य नाऊ ।।१।।

कुन हो सदा बन्धनमा पर्याको ?
जस्ले छ यो मन् सुखमा धर्याको ।
मुक्ती भन्याको त पदार्थ कुन् हो ?
वैराग्य भन्नू चिज जान्नु जुन् हो ।।२।।

ठुलो नरक् कुन् छ भनेर जान्नू ?
यही शरीरै छ भनेर मान्नू ।
कस्तो स्वभाव् स्वर्ग भनेर जान्नू ?
तृष्णा छुट्या स्वर्ग भनेर मान्नू ।।३।।

कुन् ज्ञान् छ ठूलो भनि लीनु पर्न्या ?
वेदान्तको ज्ञान छ दु:ख हर्न्या ।
कुन् हो सहज् मोक्ष गरायिदीन्या ?
ज्ञान् हो अरूको किन नाम लीन्या ।।४।।

कुन् मूल ढोका छ नरक् कि ? नारी,
लान्छे नरक् मोह ठुलो फिजारी ।
कुन् धर्म हो स्वर्ग पुर्यायिदीन्या ?
तेस्तो अहिंसा छ बुझेर लीन्या ।।५।।

सुत्न्या सुखै पूर्वक आद्मि कुन् हो ?
समाधि लायी रहन्या त जुन् हो ।
जागा कउन् हो कसरी उ जान्न्या ?
जो सत् असत्को छ विवेक गर्न्या ।।६।।

कस्लाइ हो शत्रु भनेर जान्नू ?
आफ्ना दशै इन्द्रिय शत्रु मान्नू ।
कस्लाइ खूब् मित्र भनेर मान्नू ?
जीत्या तिनै इन्द्रिय मित्र जान्नू ।।७।।

दरिद्र नाऊँ नरमा छ कस्को ?
विशाल तृष्णा घरमा छ जस्को ।
कुन् हो धनी सब् नरले कह्याको ?
सन्तोषले जो छ खुसी रह्याको ।।८।।

जिउँदै मर्याको भनि नाम् छ कस्को ?
उद्यम् बिना बित्तछ काल जस्को ।
अमृत्-सरी कुन् छ भन्या ? निराशा
पाशा कउन् हुन् ? ममतै छ पाशा ।।९।।

को छन् सुरा झैँ अति मोह गर्न्या ?
स्त्री जान्नु तस्तै गरि चित्त हर्न्या ।
कस्लाइ विद्वानहरु तुच्छ भन्छन् ?
जो कामदेव्को वशमा रहन्छन् ।।१०।।

मृत्यू भन्याको भन आज कुन् हो ?
अप्यश् भन्याको तिमि जान जुन् हो ।
कुन् हो सबैले गुरु भन्नु पर्न्या ?
जो हो हितैको उपदेश गर्न्या ।।११।।

कुन् शिष्य हो शिष्य भनेर जान्नू ?
जुन् गर्छ सेवा उहि शिष्य मान्नू ।
कुन् दीर्घ रोग् हो सबलाइ हर्न्या ?
संसार हो जन्मनु मर्नु पर्न्या ।।१२।।

यो दीर्घरोग् फेक्न उपाय कुन् हो ?
अनित्य सब् जान्नु विचार जुन् हो ।
भूषण् छ कुन् सज्जनले कह्याको ?
शीलै छ भूषण् बहुतै बन्याको ।।१३।।

कस्लाइ खुब् तीर्थ भनेर मान्नू ?
जुन् शुद्ध मन् हो उहि तीर्थ जान्नू ।
विद्वान् कउन् चिज्कन तुच्छ मान्छन् ?
कान्ता र सुन् त्याज्य भनेर ठान्छन् ।।१४।।

कुन् सुन्न बेस् हुन्छ भनेर मान्नू ?
वेदान्तका बात् गुरुदेखि सुन्नू ।
कन् ब्रह्म जान्नाकन हेतु मान्नू ?
सत्सङ्ग वेदान्त बिचार जान्नू ।।१५।।

कुन् सन्त हुन् ? लोक्कन तुच्छ मान्न्या,
सब् छोडि साँचो शिवतत्त्व जान्न्या ।
ज्वर् कुन् छ ? चिन्ता ज्वर-तुल्य मन्न्या,
कुन् मूर्ख हो ? कत्ति विवेक् नगर्न्या ।।१६।।

कुन् काम हो मन् दिइ गर्नु पर्न्या ?
श्री विष्णुको भक्ति छ दु:ख हर्न्या ।
कुन् आद्मि हो यस् नरमा जियाको ?
दिर्दोषि भै मन् हरिमा दियाको ।।१७।।

विद्या र बोध् कुन् चिजलाइ भन्छन ?
जुन् पाउँदा मुख्य भयी रहन्छन् ।
कुन् मुख्य लाभ् हो ? भन आज तेही ।
आत्मासरीको अरु छैन कोही ।।१८।।

सारा जगत् जित्छ अवश्य कस्ले ?
अभ्यास् गरी मन्कन जित्छ जस्ले ।
कस्ता बली वीर् कन वीर् कहन्छन् ?
कन्दर्प जस्का वशमा रहन्छन् ।।१९।।

कुन् हुन् बडा धीर् सब धर्म जान्न्या ?
स्त्रीका कटाक्षैकन तुच्छ मान्न्या ।
कुन् हुन् ठुला विष ? विषयै कहिन्छन्
ती कालकुटादि बरू सहिदिन्छन् ।।२०।।

कुन् दु:खि हो यस् विषलाई लीन्या ?
संसारमा खुप्सित चित्त दीन्या ।
कुन् धन्य हो ? जुन् छ परोपकारी,
कुन् पूज्य हो ? तत्त्व लिन्या विचारी ।।२१।।

कौनै बखत्मा पनि क्या नगर्नू ?
पाप्मा अगाडी कहिल्यै नसर्नू ।
विद्वान् पुरुष्ले कति काम गर्नू ?
स्वधर्म थामीकन शास्त्र पढ्नू ।।२२।।

साङ्ला कउन् हुन् सबलाइ बाँध्न्या ?
स्त्री हुन् सदा पाउ समाइ-राख्न्या ।
सब् ब्रतहरूमा व्रत मुख्य कुन् हो ?
सब् देखि सानो म छु भन्नु जुन् हो ।।२३।।

क्या जानिईदैन भनेर बक्नू ?
स्त्रीको चरित्रै छ नजानिसक्नू ।
क्या हो सबैले त नछोडि सक्न्या ?
यै हो दुराशा अरू कीन बक्न्या ।।२४।।

कुन् हो पशूतुल्य भनी कह्याको ?
विद्या नभै मूर्ख पडी रह्याको ।
सज्ज्नहरू कस्सित सङ् नगर्नू ?
खल्-पापि-निच्का नगिचै नपर्नू ।।२५।।

कस्ता पुरुष् मुक्त भएर तर्छन् ?
सत्सङ्ग-भक्तीहरु जो त गर्छन् ।
छोटो कउन् हो नजलाइ माग्न्या,
कुन् हो बडो ? जो धनमा नलाग्न्या । २६।।

जन्म्यो कउन् ? जन्मनु फेर् नपर्न्या
मर्न्या कउन् हो ? मरि फेर् नमर्न्या ।
कस्लाइ लाटो छ भनेर भन्छन् ?
जो ता बखत्मा पनि चुप् रहन्छन् ।।२७।।

बैह्रो कउन् हो ? हित बात् नसुन्या
कुन् हो अविद्या मित नारि मान्न्या ।
कुन् तत्त्व साँचो छ भनेर खोज्न ?
साँचा शिवै छन् शिवलाइ रोज्नू ।।२८।।

उत्तम् भन्याको भन आज कुन् हो ?
सज्जनहरूको सुचरित्र जुन् हो ।
कुन् कर्मले शोक्हरू दूर हुन्छन् ?
श्री विष्णुका पूजनले ति टर्छन् ।।२९।।

कुन् शत्रु हुन् खुब् वलवान् भयाका ?
कामादि हुन् सब् नरले कह्याका ।
कुन् हो कसै पूर्ण गरी नसक्नू ?
कामै छ त्यस्तो अरु कीन बक्नू ।।३०।।

कुन् दु:खको मूल भनेर जान्नू ?
मेरो म हुम् भन्नु छ तेहि मान्नू ।
कुन् हो जगत्को गहना बन्याको ?
विद्यै छ सब्को गहना बन्याको ।।३१।।

कुन् सत्य हो सत्य कसोरि जान्नू ?
जुन् प्राणिको हित् छ उ सत्य मान्नू ।
कुन् छाडिदीन्या सुखि हुन्छ भन्छन् ?
स्त्री छाड्न सक्न्या सुखिमा गनिन्छन् ।।३२।।

ठूलो छ दान् कुन् गरि ताप हर्न्या ?
सब् प्राणिको निर्भय जो त गर्न्या ।
कुन् हो बुझ्यओ निश्चय नाश हून्या ?
त्यो भक्तको मन् छ भनेर जान्न्या ।।३३।।

कस्तो भयामा भय छुट्टि हुन्छन् ?
मुक्तै भयामात्र ति पाप टर्छन् ।
वाण्तुल्य कुन् हो अति दु:ख दीन्या ?
जुन् मूर्खता हो उहि जानि लीन्या ।।३४।।

कस्का सधैं दास् भइ पाउ पर्नू ?
बूढा गुरूमा लगि चित्त धर्नू ।
प्राणान्तका समयमा कति कर्म गर्नू ?
सम्पूर्ण छोडि रघुनाथ्-तिर चित्त धर्नू ।।३५।।

कुन् चोर हो इ जनको भनि चोर जान्नू ?
जुन् वासना त छ असत् उहि चोर मान्नू ।
शोभायमान भयि बस्छ सभाविषे को ?
सब् को प्रसन्न मन गर्दछ शास्त्रले जो ।।३६।।

मातासरी सुख दिन्या कुन चीज् छ जान्नू ?
विद्यै छ त्यस्तो अरु कौन खोज्नू ।
कुन् हो जती-जति दियो उति बढ्न जान्या ?
विद्यै रहेछ बुझि निश्चय तेहि मान्या ।।३७।।

कुन् काम हो अति डरायर दूर सार्नू ?
लोकापवाद् छ घटिया कहिल्यै न धर्नू ।
कुन् कर्म गर्दछ भन्या उहि बन्धु मान्नू ?
आफ्नो सहाय यदि गर्दछ बन्धु जान्नू ।।३८।।

कस्ता मनुष्यकन पित्रि भनेर जान्नू ?
जसले त पालन गर्यो उहि पित्रि मान्नू ।
कुन् चीज जानिकन चीज् रहँदैन जान्नू ?
यो चीज् त नित्य परमेश्वरलाइ मान्नू ।।३९।।

कुन् चीह्निया सकल चीजहरू चिह्निइन्छन् ?
ईश्वर चिह्न्या सकल वाँहि चिह्नी सकिन्छन् ।
कुन् चीज् रहेछ अति दुर्लभ खोजि हान्नू ?
सत्सङ्ग हो अधिक दुर्लभ तेहि मान्नू ।।४०।।

कुन् त्याग् कहिन्छ ? शिवको सब तत्त्व जान्नू,
कुन् जीत्न सक्नु छ कठिन् ? उ त काम मान्नू ।
कुन् हो पशूसरि भनी नरले कह्याको ?
आत्मा नजानिकन मूर्ख पडी-रह्याको ।।४१।।

अम्मृत्सरी अघि भई पछि वीष बन्न्या,
कुन् हो ? स्त्रि हुन् किन अरू चिजलाइ भन्न्या ।
कुन् शत्रु हुन् अघि त मित्र सरी रह्याका ?
पुत्रादि हुन् सकल सज्जनले कह्याका ।।४२।।

कुन् चीज् छ चञ्चल यहाँ क्षण एक् घरीको ?
आयुष्य यौवन बुझ्या बिजुली सरीको ।
कुन् दान् ठहर्छ अति मुख्य यहाँ गर्याको ?
जुन् दान् छ पात्रहरुका मुखमा पर्याको ।।४३।।

प्राण् जान खोज्दछ भन्या पनि कन् नगर्नू ?
संसार् अनित्य बुझि पाप् कहिल्यै नगर्नू ।
कुन् हो अघी सरिसरीकन गर्नु पर्न्या ?
पूजा सदाशिबजिको सब पाप हर्न्या ।।४४।।

कुन् कर्म मुख्य भनि सद्गुरुले कहन्छन् ?
जुन् कर्मले त परमेश्वर खुश् रहन्छन् ।
कुन् स्थानमा बसुँ भनीकन दील् नदीनू ?
संसारमा भनि अवश्य चिह्नेर लीनू ।।४५।।

रात् दिन् निरन्तर कतातिर चित्त धर्नु ?
संसार् अनित्त्य बुझि तत्त्व-विचार गर्नू ।



Bhanubhakta Acharya – Bhakta Maala

प्रतिज्ञा मैले यो यमसित गर्याँ जन्मि अब ता।
सिताराम् भज्न्या छू विषयहरूमा छाडि ममता।।
प्रतिज्ञा सो बिर्सीकन जन धनै खोजि डुलियो।
सिताराम् भज्न्या हो शिव शिव उसै आज भुलियो।।१।।

सिताराम् भज्न्या छू भनिकन प्रतिज्ञा अघि गरी।
गयाको होस् आइस् कति दिन भजिस् भन् अघि सरी।।
यसो भन्नन् ख्वामित् मकन यमराज् तेस् बखतमा।
कसो भन्नू मैले भुलिकन रह्याँ एस् बखतमा।।२।।

गयो बालक् काल्को वय पनि उसै बालरसले।
यसै रित्ले यौवन् पनि बितिगयो मोहवशले।।
भयो वृद्धावस्था अझ पनि भजींदैन मनले।
कसो गर्नन् ख्वामित् मकन यमका दूतहरूले।।३।।

घडी दिन् पक्षै मास् ऋतु अयन यै काल गतिले।
घट्यो आयू मेरो विषय अझ खोज्दै छ मतिले।।
कृपानाथ् हे स्वामी अब कसरि संसार तरुँला।
कृपा राख्या जावस् नतर त अनाथ् बीच परुँला।।४।।

बडो दुर्लभ् जानोस् भरत भुमिको जन्म जनले।
सहज् मिल्छन् ठाकुर् हरि भजि लिया शुद्ध मनले।।
बखत् यस्तो जानी हरिचरणमा मन् पनि धरोस्।
निरन्तर् श्रद्धाले हरि खुशि हुन्या दान् पनि गरोस्।।५।।

जगत्मा पृथ्वीका अधिपति बडा दौलाथि थिया।
मरण्का वेलामा बुझिलिनु ति क्या लीकन गया।।
निरन्तर यै सम्झी हरि भजि रहोस् शुद्ध मनले।
परन्तू हक् मर्न्यै छ त बटुलि क्या गर्नु धनले।।६।।

कडोरन्का मालिक् अघि पनि बडा वीर्हरू भया।
तिमध्ये जो जो हुन् हरि भजिलिन्या पार् पनि गया।।
मरण्का वेलामा हरिबिु त क्या भर् छ अरुको।
शरण् लेला सो नाथ् अधिपति अजामीलहरुको।।७।।

जगत्मा सब् ढुँड्दै सबकन विचार्या जन पनि।
बडा हूँ भन्याका घरघर सह्याको धन धनै।।
रह्या छन् कालैका वश परिरह्याका जन पनि।
बुझ्याँ मैले सब्को रिपुसरि भयाको पनि मनै।।८।।

मनुष्यै योनीमा यदि हरि भज्यो ता जन तर्यो।
अवश्यै फन्दामा हरिकन न भज्न्या पछि पर्यो।।
जगत्मा यो चाला बुझिकन विचार् गर्नु जनले।
निरन्तर् ठाकर् को चरणकमलै धर्नु मनले।।९।।

भजौँला भन्दैमा कति कति बित्यो जन्म जनको।
मरौँला भन्नाको अझ पनि विचार् छैन मनको।।
अहो दैवी माया बडि बलवती जानि मनले।
विचार् गर्दै गर्दै हरि भजिलिनू भक्त जनले।।१०।।

दया पाऊँ ख्वामित् विनति छ हजुर् का चरणमा।
नलागुन् पाशा फेर् मकन यमराज् का मरणमा।।
दयाले पो छुट्छन् सकल जनका दु:खहरु ती।
उपायै क्यै छनन् कहिँ पनि दया देखि अरु ता।।११।।

भरोसा ख्वामित् को गरिकन रहन्छू दिनदिनै।
सहन्छू सब् आपत् जति जति त पर्छन् छिनछिनै।।
पर्याका पर्न्यै छन् मकन करुणा दूर् हुन गया।
सहज् मा टर्न्यै छन् मकन करुणा पो यदि भया।।१२।।

मुरारे ख्वामित् का चरणतलमा मन् न धरि ता।
बडो दुर्लभ् देख्याँ सकल जनको मुक्ति गति ता।।
विचार् गर्छू क्यारूँ मन पनि बलैले हरि लिया।
दशेन्द्री डाँकूले बिच बिच पसी दु:ख् पनि दिया।।१३।।

न कैल्हे भक्तीले गुरुचरणको ध्यान गरियो।
न ठाकुर् को पूजा गरि तुलसिको पत्र धरियो।।
दया भो ख्वामित् को भनिकन भन्या पार तरियो।
अवश्यै साँचो हो नतर यमका पास परियो।।१४।।

पुकारा गर्दो छू घडि घडि रुँदो छू चरणमा।
दया छे ख्वामित् की म त हर घडी छू चरणमा।।
बिचार् गर्थ्यो क्यारोस् भनिकन दया हुन्छ त पनि।
झलक् पाइ भुल्न्या होस् भनिकन रिसै हुन्छ त पनि।।१५।।

जगत् कोइ जान्दैनन् भनु त सबका बात् पनि भन्या।
पलक् भर् ती योगी अघि सरि बडो ज्ञान कहन्या।।
उनै काम् गर्छन् ता यमपुरि महाँ चोट मिलन्या।
अहो यो क्या ले हो बुझिबुझि सबै लोक भुलन्या।।१६।।

भज्न राम् को ठूलो बुझिकन भजन् गर्नु जनले।
नभुल्नू कैल्हे यस् विषय सुखमा लागि धनले।।
अविश्वासी चोला कति रहन जाला बितिगया।
पछीतो खुप् होला जपतप विवेक् केही नभया।।१७।।

टहल् ठाकुर्जीको अलिकति यहाँ केहि नगरी।
गभीर् संसार् सागर् सहजसित पार् पुग्नु कसरी।।
टहल् ठाकुर्जीको गरि लिन सक्यादेखि तरियो।
विपतका खानीमा नतर सहजै फेरि परियो।।१८।।

अनाथ् को नाथ मै हूँ भनिकन हँसीलो मुख गरी।
हरूँ यस् का पाप् ताप् भनिकन अगाडी पनि सरी।।
कृपादृष्टी नाथ्ले यदि दिनु भया तर्छु अहिले।
कृपादृष्टी वाहेक् तप गरि त पार् तर्छु कहिले।।१९।।

अवीवेकी मूढो त्रुभुवनविषे को छ म सरी।
बिताञाँ व्यर्थै यस् विषयरसमा जन्म यसरी।।
कउन् ठूलो चिज् हो विषयरस यस् पाजि रसमा।
दिञाँ मैले यो मन् बुझिबुझि पर्या मोहवशमा।।२०।।

जगत् मा खुप् धाञाँ न त सुफल पाञाँ कहिं रती।
तपस्याको हानी हुनकन गयाको कहुँ कती।।
तपस्या गर्न्या काल् अघि बिति गयो क्यारुँ अहिले।
यसै योनीमा पार् सहज न तर्या तर्नु कहिले।।२१।।

कटीको पीताम्बर् करकमलका ककणहरू।
किरीट् कुण्डल् कौस्तुभ् तुलसि वनमालाहरु अरू।।
बलैले सम्झन्छू दृढ नरहन्या एक् क्षण पलक्।
कउन् दिन् मा देख्छू प्रभु हजुरको सुन्दर झलक्।।२२।।



Bhanubhakta Acharya – Ram Gita

साथमा लक्ष्मणजी थिया प्रभुजि थ्यैं कुन् हो ठूलो विष् भनी ।
सोध्या लक्ष्मणले र सब्‌कहनु भो विस्तार् प्रभूले पनी ।।
व्रम्हास्वै विष हो भनी नृगजिको विस्तार् सुन्याथ्या जतै ।
बुझ्यो चित्त र फेरि लक्ष्मणजिले क्यै सोच्नालाग्या तसै ।।१२१।।

हे नाथ ! ज्ञान स्वरुप देहहरुका आत्मा अधीन् भै पनी ।
भूमार् हर्नुभयो अनेक तरहका यस् आकृतीका बनी ।।
लीला हो यित आत्मरुपि भगवान् भक्तै फकत जान्दछन् ।
यी लीला दया निमित्त हुन गो यस्तो पनी मान्दछन् ।।१२२।।

यस्ता मालिक ज्ञानि पाउ तलामा ख्वामित ! पर्‌याको म छू ।
संसाररुपी गंभीर् समुद्र सहजै कुन् पाउले तर्दछू ।।
सोही युक्ति बताइबक्सनुहवस् जुन पाठले यो तरी ।
पुग्न्याछू पछि घाममा सहजमा आनन्दको भोग् गरी ।।१२३।।

लक्ष्मणका यि वचन सुनेर रघुनाथ् मूखै हँसीलो गरी ।
आफ्ना भक्त ति भाइ लक्ष्मणजिका सम्पूर्ण सन्ताप हरी ।।
तत्व`-ज्ञान पनी तहीं दिनुभयो जुन्लाइ वेद्ले पनी ।
भन्छन् लोक्हरुलाइ तर्न सजिलो साँघू छ येही भनी ।।१२४।।

यी वर्णाश्रमका क्रिया जति त छन् तिन्लाइ पैल्हे गरी ।
दश् इन्द्रीय र मन् जितेर गुरुका साम्ने अगाडी परी ।।
आत्मज्ञान मिलोस् भनेर गुरुको सेवा निरन्तर् गर्‌या ।
आत्मज्ञान पनि मिल्छ य्हि रितले संसार कतीले तर्‌या ।।१२५।।

फल इच्छा गरि कर्म गर्छ यदि ता फेर देह यस्तै लिई ।
त्यो फल् भोग् पनि गर्छ गर्छ अरु फेर कर्मै बहुत मन दिई ।
तेस्को फे पनि बन्छ देह करले येसै जगत्मा परी ।
यस्तै रितसित घुम्छ त्यो भुवनमा अत्यन्त चक्रे सरी ।।१२६।।

अज्ञानै छ घुमाउन्या सकलको शत्रु सरीको यहाँ ।
ज्ञानैले गरि नष्ट हुन्छ पनि सो लीनू यही मन् महाँ ।।
अज्ञानको र यि कर्मको छ कति फेर् तस्मात क्रियाले गरी ।
अज्ञान् नष्ट हुँदैन छैन अरु थोक् ऊपाय यै ज्ञान् सरी ।।१२७।।

अज्ञान् नष्ट हवस् नराग् नत छुटोस् अज्ञानका कर्मले ।
कर्मै गर्छ त घुम्छ यै जगतमा त्यै कर्मका धर्मले ।।
तस्मात् ज्ञान विचार गर्नु जनले ज्ञान्‌ले कती पार् भया ।
ज्ञान छाडीकन कर्मले जनहरु संसार पार् को गया ।।१२८।।

विद्यालाइ सहाय कर्म छ ठुलो भन्छन् यि वेद्ले पनी ।
तस्मात कर्म अवश्य मर्नु जनले साहाय होला भनी ।।
कै येसो पनि भन्दछन् त ति भनून् साहाय कोही रती ।
विद्यालाय त चाहिंदैन बुझ यो बिस्तारै बताऊँ कती ।।१२९।।

हुन्छन् कर्म त देह देहहरुमा पूरा अभीमान् भई ।
विद्या हुन्छ त जो छ तेहि अभिमान् देहाविमाको गई ।।
विद्याको र यि कर्मको त छ विरोध् साहाय हुन्थ्यो कहाँ ।
विद्यै एक् छ समर्ग मुक्ति दिनमा यै जान्न् सब्ले यहाँ ।।१३०।।

बाजीका श्रुति तैत्तिरीय कहिन्या श्रूतिहरुले पनी ।
भन्छन् येहि कुरा सहाय अरुको खोज्दैन विद्या भनी ।।
तर्मात् कर्म विरोधि जानि जनले सब् कर्म छाडी दनू ।
विद्यै मात्र ठुलो बुझेर यसमा यो मन् लगाई लिनू ।।१३१।।

जो यो तत्वमसी छ वाक्य यसको वाक्यार्थ जानी लिनू ।
यस्मा तीन् पद् छन् ति तीन पद्का तात्पर्यमा मन दिनू ।।
तत्‌का अर्थ परात्म हुन् ति पदमा त्वँ भन्नु जीवात्मा हो ।
यिन्को ऐक्य बुझाउन्या असि छ पद् रात् दिन् विचार् गर्नु यो ।।१३२।।

मायाले त बन्यो शरीर सक्यो आखिर् छ मर्न्या पनी ।
देख्नू पञ्च महाभुतै छ सबमा यस्ता प्रकारको बनी ।।
संसारको सुख दुःख साधन स्वरुप देखिन्छ जो देह यो ।
स्थूलोपाधि भनी कहिन्छ सबले यो नाम् यसैको त हो ।।१३३।।

दस् इन्द्रीय र मन् अपञ्चिकृत भुत यो सोह्र जम्मा छ जे ।
स्थूलोपाधि भनी कहिन्छ सबको मूल भोग साधन् छ यो ।।
येसै स्थूल उपाधि भित्र छ सदा यिन्को वियोग् भो जसै ।
स्थूलोपाधि गलेर जान्छ सबको टिक्तैन पक् क्षण् कसै ।।१३४।।

जीव्‌ता मुक्त छ शुद्ध निर्मल फटिक् जस्तो उपाधी गरी ।
सो निर्मल् पनि हुन्छ सङ्ग गुणले उस्तै उपाधी सरी ।।
यी नै दुइ उपाधि देखि बुझि खुप होला फरक जीव् जसै ।
तस्तै मुक्त हुन्याछ छैन नहिंता अर्को उपायै कसै ।।१३५।।

राताका सँगमा रह्या स्फटिक ठिक् देखिन्छ रातै सरी ।
तस्तै अट्टम पनी उपाधिसँग भै हुन्छन् उपाधी सरी ।।
आत्मामा छ उपाधि केहि न फटिक्मा क्यै छ रातो कसै ।
झुट्टै मात्र छ त्यो झलक् यदि विचार खुप् राख्नु जत्ता ततै ।।१३६।।

जाग्त् स्वप्न सुषुप्ति वृत्ति तिन छन् यस् बुद्धिका यी पनि ।
झुट्टै देखि लिइन्छ नित्य सुखरुप यस् ब्रम्ह रुपमा भनी ।।
जानी वृत्ति निरोध् गरेर जनले यो आत्म जालीलिनू ।
आत्माभित्र उपाधिलाइ त झुटा जानेर छाडीदिनू ।।१३७।।

आत्प्ता हो सुख रुप दुःख रुपको संसार् छ उस्मा कहाँ ।
अज्ञान्ले गरि मात्र सत्य रुपले झल्कन्छ आत्मामहाँ ।।
ज्ञानले लीन् पनि हुन्छ डोरिकन साँप् बुझ्नू छ जस्तो फकत् ।
तस्तै ईश्वरमा अनेक् तरहको देखिन्छ यस्तो जगत् ।।१३८।।

अध्यास् हुन्छ चिदात्ममा यि सवको जो छन् अहङ्कारका ।
इच्छादी पनि बुद्धि धर्म बुझनू छैनन् कुनै सारका ।।
आत्मा साक्षि छ यो पृथक यी सबमा सब्‌मा घुस्याको पनी ।
जस्तै घुस्तछ अग्नी लोहहरुमा त्रस्त प्रकार्‌को बनी ।।१३९।।

यै आत्मा-कन चिन्न पर्छ गुरुका वेद्का वचन्‌ले गरी ।
आत्मालाइ चिन्ह्यो भन्या बुझिलिनू त्यो मुक्त भो त्यस् घरी ।।
तस्मात् आत्म विचार गर्नु जनले यस् रुपका हुन् भनी ।
अज्ञान् नष्ट गराउनाकन अवर छैनन् उपायै पनी ।।१४०।।

आत्मा यस् रितले चिह्रिन्छ पहिले एकान्तमा गै बसोस् ।
दश् इन्द्रीय जितेर मन् पनि जिती आत्मै विचार्मा परोस् ।।
जानोस् जो छ जगत् प्रकाश सकल यो हो आत्मसत्ता भनी ।
यही तत्व बुझी त पूर्ण रुपको होइन्छ आफू पनी ।।१४१।।

ओङ्कार् वाचक हो सबै जगतको अज्ञान् अवस्था महाँ ।
ज्ञानोत्तर् हुन सक्छ वाचक कहाँ लीन् हुन्छ आत्मैमहाँ ।।
आत्मामा जब लीन् भया अ उ म तीन् विश्र्वादि साक्षीसहित् ।
आत्मै मात्र रहन्छ त्यस् बखतमा निर्मल उपाधी-रहित् ।।१४२।।

सोही आत्म म हूँ भनी दृढ भयो ज्ञानका विचार्‌ले जसै ।
जीवन्मुक्त भनी कहिन्छ जब त्यो पर्दैन ताप्मा कसै ।।
सब् इन्द्रीय शमन् गरेर बलवान् कामादिको नाश् गरी ।
अभ्यास् गर्नु समाधिमा त सहजै देखिन्छ सामूने हरी ।।१४३।।

येहि पूर्ण अनन्त आत्मरुपको ध्यान नित्य गर्दै रहोस् ।
जो प्रारम्भ छ सो बुझेर बलियो यी दुःख सुख् सब् सहोस् ।।
येही रीत्‌सित दिन् बिताउँछ भन्या यो देह छुट्ला जसै ।
संसार्‌का सब दुःख छाडिकन त्यो लीन् हुन्छ मैमा तसै ।।१४४।।

आदीमा न त अन्त्यमा न बिचमा यो देहधारी धनी ।
पूर्णानन्द हुँदैन जान्न् सबले यो सत्य बात् हो भनी ।।
तस्मात यो विधि छोडि गर्नु जनले आत्मै विचा खुप् गरी ।
त्यो मैमा मिलि जान्छ जल् जलधिमा पौंचेर मील्यासरी ।।१४५।।

आत्मै मात्र छ सत्य यो सब जगत झूटै छ झूटो पनी ।
डोरी र्प बुझ्या सरी बिबुझमा देखिन्छ साँचो भनी ।।
जान्नू जानिइएन यो भनि भन्या मेरा चरण्मा परी ।
सेवा गर्नु र जान्दछन् नतरता टदन कस्तै गरी ।।१४६।।

वेद्को सार रहस्य यो सब कहाँ जो यो विचार गर्दछन् ।
कोटी जन्म सहस्रका सकल पाप् तिन्‌का सहज् टर्दछन् ।।
तस्मात् भाइ ! विचार यो सब जगत् झूटो चटक् झैं भनी ।
मैमा भक्ति सदा लगायर रहू आनन्दरुपी बनी ।।१४७।।

मेरो येहि सगुण् स्वरुप्‌कन खुशी मानी भजन् वा गरुन् ।
वा निर्गुण् परिपूर्ण आत्म रुपमा लगेर यो भन् भरुन् ।।
ती दूवै मइतुल्य हुन् ति मइ मइ हुन् ती मै सरीका बनी ।
गर्छन् सब् भुवनै पवित्र तिनले कुल्ची दिंदामा पनी ।।१४८।।

श्रद्धा भक्ति रहोस् गुरुचरणमा मेरा वचन्मा पनी ।
यस्लाई श्रुति-सार् बुझीकन पढोस् मूल तत्व यै हो भनी ।।
यस्ता रीतसित यो पढयो पनि भन्या अज्ञानको नाश् गरी ।
मेरै रुप् बनि जान्छ सहजै संसार सागर तरी ।।१४९।।